गृहमन्त्री खाणका भाइको निर्देशनमा कांग्रेस कार्यकर्तामाथि नै आक्रमण - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

गृहमन्त्री खाणका भाइको निर्देशनमा कांग्रेस कार्यकर्तामाथि नै आक्रमण



काठमाडौं–नेपाली कांग्रेसको रामचन्द्र पौडेलपक्षले मतगणनाका क्रममा रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ। रामकृष्ण खाण कांग्रेस रुपन्देहीका सचिव हुन्।

रूपन्देहीको प्रदेश ३ (क) को मतगणना स्थलमा शुक्रबार राति युवाहरूको एक समूहले आक्रमण गर्दा पौडेल समूहबाट प्रदेश ३ का सचिव पदका उम्मेदवार शैलेश पन्तसहित पाँच जना घाइते भएका थिए।

घाइते नेताका समर्थकहरूले अस्पतालको बेडमै पत्रकार सम्मेलन गरी ‘मण्डले शैली’ मा आक्रमण हुनु निन्दनीय भएको बताए। क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पुरण श्रेष्ठले गृहमन्त्रीका भाइको निर्देशनमा आक्रमण भएको आरोप लगाए।

खाणको निर्देशनमा तरुण दलका रुपन्देही अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको टोलीले पन्तमाथि आक्रमण गरेको उनले दाबी गरे। उनले सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर आफ्नै पार्टीका कार्यकर्तामाथि सांघातिक आक्रमण भएको आरोप लगाएका छन्।

आफ्नो समूहले हार्ने निश्चित भएपछि खाण पक्षधर युवाहरू पुगेर जेनरेटर बन्द गरी आपराधिक शैलीमा आक्रमण गरेको उनले बताए।

तर, रामकृष्ण खाणले भने घटनामा आफ्नो कुनै संलग्नता वा निर्देशन नरहेको बताएका छन्।