विप्लव-प्रचण्ड वार्ता: पार्टी एकता गर्ने सहमति
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
दुई पार्टीबीच एकताको पहलस्वरुप प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो । उनलाई माओवादी केन्द्रमा ल्याउनका लागि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पहल गरिरहेका छन् । त्यसै अनुरुप महराको समेत उपस्थितिमा दुई जनाको भेट भएको हो ।
भेटमा दुई पार्टीबीच सहकार्यको विषयमा कुराकानी भएको बताइएको छ । ‘उहाँहरूबीच एकताको आधार तय गर्नका निम्ति तत्काल सहकार्य गर्ने समझदारी बनेको छ,’ प्रचण्डको सचिवालयले भनेकाे छ ।
माओवादी केन्द्र छोडेर विप्लव मोहन वैद्यसँग लागेका थिए । पछि त्यहाँबाट पनि अलग हुँदै आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए ।
केही समय हिंसात्मक गतिविधि सञ्चालन गरेका उनी २०७७/११ फागुनमा सरकारसँग तीन बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए । विप्लवलाई महासचिव बनाएर माओवादी केन्द्रमा भित्र्याउने प्रयास भइरहेको चर्चा त्यस पार्टीभित्र छ ।