जबरामाथि महाभियोग लगाउने प्रचण्डको संकेत
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने संकेत गरेका छन् । उनले न्यायालयमा देखिएको विवाद छिटै समाधान नभए राजनीतिक निकास खोज्ने बताएका छन् ।
बुधवार जनकपुरस्थिति विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच दलीय सत्तारूढ गठबन्धनले अदालतमा देखिएको विवाद अदालतमै समाधान होस् भन्ने चाहेको बताए । ‘यदि अदालतको समस्या त्यहीं समाधान हुँदैन भने हामीले राजनीतिक निकास खोज्छौं,’ प्रचण्डले भने ।
राजनीतिक निकास भनेर प्रचण्डले अप्रत्यक्ष रूपमा महाभियोगतिर संकेत गरेका हुन् । बार एसोसियसन र न्यायाधीशहरूले जबराको राजीनामा माग्दै आन्दोलन र इजलास बहिष्कार गरेको भएपनि जबरा टसको मस भएका छैनन् ।
जबराले एक विज्ञप्ति जारी गर्दै न्यायालयमा देखिएको समस्या समाधान गर्न वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए । तर जबराको विज्ञप्तिपछि परिस्थिति झन् बिग्रिएको छ ।
जबराले यत्तिकै ढिपी गरिरहे महाभियोगसम्म लगाउनुपर्ने सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ । अहिलेसम्म शीर्ष नेताहरूले यसबारेमा बोल्न सकेका छैनन् ।