रावलले विज्ञप्ती निकालेरै भने: एमाले विधि, पद्धति र निर्णयमा चलेन
काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलेले दसौं महाधिवेशनका लागि प्रतिनिधि चयनप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन्।
यसअघि महाधिवेशन प्रतिनिधि चयनमा आफूलाई पाखा लगाउन पार्टी अध्यक्ष ओलीले निर्देशन दिएको आरोप लगाएका रावलले विधि, पद्धति र निर्णयविपरीत कार्य भएको आरोप लगाएका छन् । विधि, पद्धतिविपरित काम गरेको भन्दै तत्कालिन एमालेका वरिष्ठ नेता माधव नेपालले बिद्रोह गरेको केही महिनामै उनले यस्तो आरोप लगाएका हुन् ।
पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णयविपरीतका क्रियाकलाप भएको रावलको आरोप छ।
‘दसौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो’, रावलले भनेका छन्, ‘तर यस्तो चाहना र आवश्यकताविपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णयविपरीतका क्रियाकलाप भएका छन्।’
कैलालीमा गरिएको प्रतिनिधि चयनमा भएको गडबडीबारे पार्टी बैठकमा कुरा राख्दा पनि सुनुवाइ नभएको रावलले गुनासो गरेका छन्।
‘मैले पार्टीका बैठकमा कुरा उठाउनुका साथै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन, अरूबाट पनि माग गरिएको थियो। तर त्यस्ता गतिविधि रोकिएको देखिएन’, विज्ञप्तिमा भनिएको छ, ‘यसको ज्वलन्त उदाहरण कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई लिन सकिन्छ। बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रियाबिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ।’