एमालेसँग चुनाव लड्ने कांग्रेसको दम छैन: केपी ओली - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमालेसँग चुनाव लड्ने कांग्रेसको दम छैन: केपी ओली



नेपालगन्ज- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग चुनाव लड्ने नेपाली कांग्रेसको दम नभएको बताएका छन् । एमालेको लोकप्रियता दिनदिनै बढेको भन्दै ओलीले अब एमालेसँग कसैले लड्न नसक्ने बताएका थिए ।

ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्ने कसैको हिम्मत नभएको बताएका छन् । नेपालगन्जमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै ओलीले कांग्रेसलाई प्रश्न गरे, ‘नेपाली कांग्रेसलाई म सोध्न चाहन्छु– एमालेसँग एक्लै लड्ने दम छ ?’ उनले गठबन्धनबिना आए जुनसुकै पार्टीको जमानत जफत हुने दाबी गरे ।

कांग्रेसले प्रधानमन्त्रीको कुर्सीका लागि बीपीको सिद्धान्त बिर्सिएको ओलीले बताए । कांग्रेस प्रधानमन्त्रीको कुर्सीका लागि प्रचण्डपथमा हिँडेको टिप्पणीसमेत उनले गरे । ‘कहाँ छ कांग्रेसमा बीपीको सिद्धान्त ? उसलाई प्रधानमन्त्रीको कुर्सी पायो भइहालेको छ,’ अध्यक्ष ओलीले भने, ‘कांग्रेस एक्लै हिँडिरहेको छैन । नेपाली कांग्रेस अहिले चार वटा बैशाखी टेकेर हिँडेको छ ।’

ओलीले माओवादी कार्यकर्तालाई एमालेमा आउन आह्वानसमेत गरे । उनले देउवाको पंखा हम्काएर बस्ने प्रचण्डको पछाडि लागेर केही नहुने समेत बताए । ओलीले एमाले अब विवादरहित ढंगले जनताको काम गर्दै अघि बढेको बताए। ‘एमालेमा अब अहंकार भएको मान्छे छैनन्,’ माधव नेपालको नाम नै नलिएर ओलीले भने, ‘केपी ओलीलाई भेट्दिनँ भन्ने अनि मुसा बनेर खुर्ररर बुढानीलकण्ठ जाने । यस्तो कुलंगार प्रवृत्ति हटेको छ ।’

ओलीले अदालत लडाइँ, कालोपट्टी, बन्द आन्दोलनको थलो भएको बताउँदै जनताको समस्या नहेर्ने र तलब भत्ता लिने न्यायाधीश हुनु दु:खद् भएको बताए । स्वतन्त्र राजनीतिक समूहका पशुपति दयाल मिश्र, गिरिजा पाठक, खजुराका नेता करिम खाँलगायत एमालेमा प्रवेश गरेका छन् ।