धनुषामा आफ्नै कार्यकर्ताले मन्त्रीलाई कुटे - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

धनुषामा आफ्नै कार्यकर्ताले मन्त्रीलाई कुटे



जनकपुरधाम- धनुषामा आफ्नै पार्टीका कार्यकर्ताले मन्त्रीलाई कुटपिट गरेका छन् । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा प्रदेश २ भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवमाथि कुटपिट भएको छ।

नेपाली कांग्रेसको वडाअधिवेशनमा मन्त्री यादवले हस्तक्षेप गरेपछि कार्यकर्ताहरूले हातपात गरेका हुन्।

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले मुखियापट्टी मुसहरनियाँ ५ र ६ मा सुरक्षाकर्मीको सहयोगमा एकलौटी माइन्युट गरेर वडा अधिवेशन गर्न खोजेपछि त्यहाँ विवाद उत्पन्न भएको थियो। विवादले उग्र रुप लिएपछि स्थानीय केही कार्यकर्ताहरूले मन्त्री यादवमाथि हातपात गरेको बताइएको छ।

वडा सभापतिका उम्मेदवार ज्ञानेन्द्र यादवले भने, “मन्त्री यादवले आफ्नो शक्तिको दुरुपयोग गर्दै अलोकतान्त्रिक र तानाशाही पाराले अधिवेशन गराउन खोजेपछि हामीले अधिवेशन रोकेका हौं ।हाम्रा केही कार्यकर्तालाई पार्टीबाट हटाइएपछि हामीले तीन दिनदेखि अधिवेशन रोकेर राखेका छौं। तर मन्त्री यादवले आफ्नो गाउँ हो भन्दै जबरजस्ती गर्न खोजेका र उनले आफ्नो पोकेटको मान्छेलाई सभापति बनाउन खोजेपछि हामीसँग हातापाई धक्कामुक्की भएको हो।”

मन्त्रीमाथि हातपात भएपछि उनी बचाउका लागि नजिकैको प्रहरी चौकी बहेडाबेला पुगेका थिए। यद्यपि मन्त्री यादवमाथि कुटपिट नभएको प्रहरी चौकी बहेडाबेलाले जनाएको छ। स्थानीय कांग्रेसका कार्यकर्ताहरूले मन्त्री यादवविरुद्ध चर्का नाराबाजी गरेका छन्।