भीम रावलले गरे एमालेमा बिद्रोह
कैलाली – पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका नेकपा एमालेका नेता भीम रावलले एमालेमा बिद्रोह गरेका छन् । एमालेले आफ्ना नेता कार्यकर्ताहरूलाई अबमुल्यन गरेको भन्दै रावलले बिद्रोह गरेका हुन् ।
नेकपा एमालेको कैलालीमा महाधिवेशन प्रतिनिधि चयनप्रति असन्तुष्ट रहेको क्षेत्र नम्बर २ रावलको नेतृत्वमा असन्तुष्ट पक्षले पनि बुधबार प्रतिनिधि चयन गरेको छ । कैलालीको लम्कीमा भएको असन्तुष्ट पक्षको भेलाले सर्वसम्मत रुपमा नौ जना प्रतिनिधि चयन गरेको हो ।
लम्कीचुहा–९ बाट यज्ञराज ढुङ्गाना, ८ बाट मनोज खड्का, १ बाट सूर्यबहादुर थापा, मोहन्याल गाउँपालिका–७ बाट वीरेन्द्रबहादुर रावल, बर्दगोरिया गाउँपालिका–१ बाट भीम कुँवर र जानकी गाउँपालिका–९ बाट रुप रावत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
यसैगरी, महिलातर्फ लम्कीचुहान नगरपालिका–१ बाट बसुन्धरा भण्डारी, ५ बाट ममता रावल र जानकी गाउँपालिका–८ बाट गंगा थापालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
नेकपा एमाले प्रदेश कमिटीले प्रतिनिधि छनोटमा कुनै विवाद नरहेको भनिरहेको बेला कैलालीमा असन्तुष्ट पक्षले महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।