उपेन्द्र यादवले मागे जनसंख्याका आधारमा मधेसीलाई अधिकार
काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास र समृद्धिको बाटोमा निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका छन्।
जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा मंगलरबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यसो भनेका हुन्। ‘जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ’, उनले भने।
अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा प्रतिनिधित्वको व्यवस्था गरे पनि भेदभावले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको बताए।
दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उनले उल्लेख गरे।
‘देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित नभइसकेको छैन’, उनले भने, ‘विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै छ।’
लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको यादवको तर्क थियो। ‘मधेसमा ठूलो जनसङ्ख्या अहिले पनि नागरिकताबाट वञ्चित छ’, उनले भने, ‘उनीहरुलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक छ।’