विवेकशील साझा पार्टीको बिजोग: पार्टी छाड्नेको ओइरो - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

विवेकशील साझा पार्टीको बिजोग: पार्टी छाड्नेको ओइरो



काठमाडौं– फुटको संघारमा रहेको विवेकशील साझा पार्टीको बिजोग भएको छ । पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एकलौटी गर्ने गरेको र पार्टीमा योगदान गरेका नेताहरूलाई पाखा लगाउन थालेपछि पार्टी छोड्नेको ओइरो लागेको छ ।

आफूहरुले मान्दै आएको राजनीतिक सिद्धान्त, विचार र बाटो नै फरक परिसकेपछि यो दलमा रहनुको कुनै औचित्य नभएको भन्दै केन्द्रीय नेताहरूले पार्टी छोड्ने क्रम जारी छ । आज थप ३ जना केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका छन्।

केन्द्रीय सदस्यहरु सरला लामिछाने, प्रतिभा डङ्गोल र दीपा अर्यालले पार्टी परित्यागको घोषणा गरेका हुन्। मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन्। आफूहरुले मान्दै आएको राजनीतिक सिद्धान्त, विचार र बाटो नै फरक परिसकेपछि यो दलमा रहनुको कुनै औचित्य नभएको उनीहरुको भनाइ छ।

‘साझा पार्टी अन्तिममा यही धारमा जाने अनुमान नगरिएको पनि हैन। तर, वैकल्पिक राजनीतिमा होमीएका हामीले नेतृत्वको अभिव्यक्ति र अनेकौं दस्तावेजलाई विश्वास नगर्ने भन्ने नै भएन। अन्य दलमा भएको भए शायद नै आज अचम्मित हुने थिएनौं, भनाइ र गराइमा फरक नौलो पनि लाग्दैन थियो होला। दुई व्यक्तिको राजनीतिक सिद्धान्त र बिचारमा भिन्नता हुनु पनि अस्वाभाविक हैन। कुरा यति मात्र हो सीमित व्यक्तिले आफ्नो राजनीतिक सिद्धान्त र बिचारलाई समयमा स्पष्ट पारेको भए हामीले यति महत्वपूर्ण समय (करिब ४ वर्ष) आन्तरिक कलह र खिचातानीमा बिताउनु पर्ने थिएन,’ उनीहरुले संयुक्त विज्ञप्तिमा भनेका छन्।

सिंहदरबार वरिपरि हुर्किएर सहज पहुँच भएकालाई संघीयता अनावश्यक लाग्नु, खर्चिलो लाग्नु स्वाभाविक भएको उनीहरुको टिप्पणी छ। आफूहरुले कल्पना गरेको राजनीतिक व्यवस्था अहिलेको संविधान च्यातेर नयाँ संविधान लेख्ने नभएको उनीहरुको भनाइ छ।

‘हामीलाई त आम नागरिकको अवस्था परिवर्तन भएको हेर्नु छ। शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सुधार गर्नु छ। यातायात, संचार, विधुतमा सबैको समान र सहज पहुँच जस्ता जनकेन्द्रित राजनीति गर्ने दल आजको आवश्यकता हो भन्ने हाम्रो बुझाइ हो। आजको दिनमा विवेकशील साझाले आफुलाइ यी सबै मुद्दाबाट फरक राखेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

कुनै परिवारमा जन्मेकै आधारमा कोही व्यक्तिले आफूहरूमाथि शासन गर्न पाउने व्यवस्था कल्पना पनि गर्न नसकिने पनि उनीहरुको भनाइ छ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेदेखि विवेकशील साझाको आन्तरिक विवाद चुलिएको हो। मिश्र पक्षले राजनीतिक प्रस्ताव पारित गरेको घोषणा गरेपछि धेरै नेताहरुले पार्टी परित्यागको घोषणा गर्न थालेका छन्।