अख्तियारले भेट्टायो प्रदेश २ मुख्यमन्त्री कार्यालयले गरेको ठुलो भ्रष्टाचार - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

अख्तियारले भेट्टायो प्रदेश २ मुख्यमन्त्री कार्यालयले गरेको ठुलो भ्रष्टाचार



जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा प्रदेश २ मुख्यमन्त्री कार्यालयबाट खरिद भएका साइकलमा भ्रष्टाचार भएको देखिएको छ। आयोगको प्रादेशिक कार्यालय बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले मुख्यमन्त्री कार्यालयले छात्राका लागि खरिद गरेका साइकलमा भ्रष्टाचार भएको देखिएको जानकारी दिएका हुन्।

मुख्यमन्त्री कार्यालयले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छात्रालाई वितरण गर्नका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारी गरेको कागजात अध्ययनका क्रममा भ्रष्टाचार भएको देखिएको हो।

अख्तियारको बर्दिबास कार्यालय प्रमुख सापकोटाले साइकल खरिदमा भएको अनियमितताको सम्बन्धमा परेको उजुरीमा प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएको बताए। ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेका छौँ। त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त गरेर विस्तृतमा अनुसन्धान अगाडि बढ्छ,’ उनले भने।

सापकोटाले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए। विस्तृत अनुसन्धान हुन थप एक महिना लाग्न सक्ने सापकोटाको भनाइ छ। उनले खरिदमा संलग्न कर्मचारीको बयान लिने तथा प्रमाण परीक्षणको काम भइरहेको समेत जानकारी दिए। विस्तृत अध्यनको लागि केन्द्रीय टोलीले अनुसन्धान थालेको समेत उनले जानकारी दिए।