बार एसोसिएसनले भन्यो: चोलेन्द्र बिचौलियाका नाइके हुन्
काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलियाका नाइकेसँग कुनै पनि वार्तामा नबस्ने बताएका छन् ।
सोमबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बिचौलियाका नाइके प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता नगर्ने बताएका हुन् ।
उनले भने, ‘बिचौलियाका नाइकेसँग वार्ता हुँदैन । तपाईं राजीनामा गर्नुहोस्, तपाईंसँग कुनै हालतमा वार्ता हुँदैन ।’ अध्यक्ष श्रेष्ठले जबराले राजीनामा दिएपछि आउने प्रधानन्यायाधीशसँग मात्रै न्यायपालिकाको विकृति र विसंगति हटाउन वार्ता गर्ने बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदासम्म आन्दोलन नरोकिने बातए ।
‘सर्वोच्चको आँगनमा हामी हुँदाहुँदै हाम्रो अगाडि नआई विज्ञप्ति निकाल्ने प्रधानन्यायाधीशसँग हामी वार्तामा जाँदैनौं । जबसम्म राजीनामा हुँदैन, तबसम्म आन्दोलन जारी हुन्छ,’ उनले भने ।