४५ लाख मत नल्याए कांग्रेस पहिलो पार्टी बन्दैन: गगन थापा - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

४५ लाख मत नल्याए कांग्रेस पहिलो पार्टी बन्दैन: गगन थापा



काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले ४५ लाख मत ल्याए मात्रै कांग्रेस पहिलो पार्टी बन्न सक्ने आकलन गरेका छन्।

कांग्रेसले गत निर्वाचनमा ३२ लाख मत पाएको उल्लेख गर्दै थापाले भने, ‘कांग्रेससँग भएको मतले मात्रै पहिलो पार्टी बन्न सकिन्न। योपटक ४५ लाख मत पुर्‍याउनु पर्ने छ। १३ लाख मत कांग्रेसले थप्नुपर्नेछ।’

आगामी चैत्र ५ भित्रै स्थानीय निर्वाचन हुनुपर्ने उनले बताए। चैत ५ भन्दा स्थानीय निर्वाचन पर सार्ने सुविधा संविधानले नदिएको उनले प्रष्टाए।

चैत ५ पछि स्थानीय तहको निर्वाचन गर्ने भए अध्यादेश ल्याउनुपर्ने उनको तर्क छ। ‘हामीलाई तीन महिना मात्रै बाँकी छ।’ काठमाडौंको वडा र पालिका अधिवेशनमा विजयीलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले भने,‘१८ वर्षको मतदातालाई कांग्रेसको इतिहास सुनाएर हुँदैन। भविष्यमा कांग्रेसले गर्ने कार्य बताउन सक्नुपर्दछ।’

हिजोको केन्द्रीय समितिको बैठक पछि अब महाधिवेशन हुन्छ भन्ने विश्वास पलाएको उनले बताए। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए महाधिवेशन हुने सुनिश्चतता नहुने उनले बताए। ‘पुसको पहिलो साता नयाँ नेतृत्वको नामावली बुझाउने अनिवार्यता आयोगले नगरेको भए सायद महाधिवेशन हुने थिएन। सामूहिक क्षयीकरणको यो एउटा प्रमाण हो’ थापाले भने।

विधानको सर्वोच्चता कायम गर्ने कार्यमा दल पटक पटक चुकेको उनले बताए।