पौडेलले मागे देउवासँग औपचारिक धारणा - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

पौडेलले मागे देउवासँग औपचारिक धारणा



काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको विवादको विषयमा पार्टीको औपचारिक धारणा दिन इन्कार गरेका छन्।

२७ कात्तिकमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा उनले ‘न्यायालयको विवादमा पार्टीहरूले हस्तक्षेप गर्नु राम्रो नभएको’ तर्क दिँदै औपचारिक धारणा दिन अस्वीकार गरेको बैठकमा उपस्थित एक पदाधिकारीले बताएका छन्।

“वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सर्वोच्च अदालतको विवादबारे पार्टीको औपचारिक धारणा माग्नुभएको थियो तर सभापति देउवाले त्यसो भन्दै मुद्दा नै डाइभर्ट गरिदिनुभयो”, उनले भने।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीश देखि नेपाल बार एशोसिएशनसम्मले आन्दोलन गरिरहेका छन्। ८ कात्तिकबाट राजीनामा माग्न शुरू गरिए पनि सत्तारूढ नेपाली कांग्रेस लगायतका कुनै पनि राजनीतिक दलले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

सोही प्रसंगमा कांग्रेस नेता पौडेलले पार्टीको धारण मागे पनि देउवाले उनलाई बिचैमा रोकेर महाधिवेशनमै केन्द्रित हुन भनेका थिए।

बैठकमा उपस्थित ती पदाधिकारीका अनुसार उपसभापति विमलनेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्माले पनि न्यायालय विवादबारे पार्टीले धारणा सार्वजनिक गर्नुपर्ने माग राखेका थिए। तर सभापति देउवा तयार नभएपछि कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

आज नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ। यद्यपी देउवाले पदाधिकारी बैठकमै न्यायालय विवादबारे मौन रहने संकेत गरेकाले आजको बैठकबाट पनि कांग्रेसको औपचारिक धारणा आउने सम्भावना न्यून रहेको स्रोतले जनाएको छ।