'एमाले ओलीको प्राइभेट कम्पनी हो, कांग्रेससँग प्रतिस्पर्धा हुनै सक्दैन' - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

‘एमाले ओलीको प्राइभेट कम्पनी हो, कांग्रेससँग प्रतिस्पर्धा हुनै सक्दैन’



काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमाले केपी ओलीको प्रालि भएको टिप्पणी गरेका छन् । तनहुँमा काँग्रेस म्याग्दे गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

‘एमाले भनेको केपी ओलीको प्रा. लि. (प्राइभेट लिमिटेड) हो । एउटा प्रालिले नेपाली काँग्रेसजस्तो पार्टीसँग कसरी प्रतिष्पर्धा गर्न सक्छ?’, नेता पौडेलले भने ।

ओलीले आफूसँग असहमत भएका सबैलाई पार्टीबाट निकालिसकेको भन्दै एमालेले लोकतन्त्रको संरक्षण गर्न नसक्ने बताए ।

‘ओलीले आफूसँग असहमत भएका सबैलाई पार्टीबाट निकालिसक्नु भो। जसले असहमति तथा आफ्नो भन्दा फरक मतलाई सुन्न सक्दैन त्यो मान्छे कसरी नेता हुन्छ? त्यस्तो पार्टीले कसरी लोकतन्त्रको संरक्षण गर्न सक्छ?,’ पौडेलको प्रश्न छ ।

ओलीले दुई तिहाईको सरकारको नेतृत्व गर्दा पनि देशले कुनै उपलब्धि हासिल गर्न नसकेको नेता पौडेलले दाबी गरे ।

उनले भने, ‘केपी ओलीले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि देशले एउटा पनि नयाँ उपलब्धी गर्न सकेन । दुई तिहाइ दिँदा त केही गर्न नसक्ने पार्टीले निर्वाचनमा गएर के भनेर भोट माग्ने? दुई तिहाइ भन्दा बढी, के सय प्रतिशत चाहियो भन्ने?’