माधव नेपालले पार्टीका नेताहरु रक्सी खाएर झगडा गरेको सूचना पाएपछि
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी निकट पत्रकारलाई साँझ परेपछि होटेल नछिर्न चेतावनी दिएका छन् ।
समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साँझ परेपछि रक्सी पिएको थाहा पाए आफूले राम्रो नमान्ने बताएका हुन् ।
‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’, अध्यक्ष नेपालले सम्बोधनका क्रममा भने ।
पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको अध्यक्ष नेपालले बताए । पत्रकारहरुले पनि त्यसो गर्न नहुने उनले बताए ।
‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’, रक्सी पिउन छोड्न आग्रह गरे । आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पनि अध्यक्ष नेपालले आग्रह गरे ।