शंकर पोखरेलसहित चार केन्द्रीय सदस्यले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

शंकर पोखरेलसहित चार केन्द्रीय सदस्यले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश



काठमाडौं- नेकपा (माले)का केन्द्रीय नेताहरू नै नेकपा (एस)मा प्रवेश गरेका छन् । (माले)का चार केन्द्रीय सदस्यले राजीनामा दिएर बिहीबार नेकपा एसमा समाहित भएका छन् ।

चार केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ती जारी गर्दै माले छाडेको जनाएका छन् । केपी शर्मा फुयाललगायत चार जनाले पार्टीबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ । पार्टी छाड्नेमा खोटाङबाट केन्द्रीय समितिमा रहेका फुयाल र श्यामराज राई, सिरहाका कालिप्रसाद यादव र तनहुँका शंकर पोखरेल छन् ।

माले पछिल्लो समय वैचारिक र सैद्धान्तिक हिसाबले बिचलित भएकाले छाड्नु परेको पूर्वसांसद समेत रहेका फुयालले बताए । ‘पछिल्लो समयमा संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउने, राजावादीहरुसँग साठगाँठ गर्ने, केपी ओलीको असंवैधानिक कदमलाई घुमाउरो पाराले समर्थन गर्ने लगायतका गतिविधिले पार्टी छाडिएको हो,’ फुयालले भने–‘यस्तो विचार भएको पार्टीमा रहन नसक्ने भएपछि बाहिरिएका हौं ।’

माले छाड्न साथ नेकपा (एस)मा समाहित भएको समेत फुयालले बताए । उनले खोटाङ, तनहुँ र स्याङ्जा नेकपा (माले) जिल्ला कमिटीका सबै पदाधिकारी नेकपा (एस)मा समाहित भएको समेत बताए ।