एमालेमा ह्वात्तै बढे सङ्गठित सदस्य
काठमाडौं । नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दसौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन् । एमालेको नवौँ महाधिवेशनमा पाँच लाख ९१ हजार सङ्गठित सदस्य रहेको थिए । पार्टीको दसौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार सङ्गठित सदस्य थप गरेको छ ।
एमालेको दसौँ महाधिवेशन मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा २०७७ चैतमसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन गर्न पाउनेछन् । एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् । रासस