सुनसरी एमालेमा थप भाँडभैलो, ओली पक्ष नै विरोधमा - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

सुनसरी एमालेमा थप भाँडभैलो, ओली पक्ष नै विरोधमा



काठमाडौं- सुनसरी एमालेमा थप भाँडभैलो मच्चिएको छ। विवाद समाधानका लागि भएको केन्द्रीय नेताबीचको सहमति जिल्ला तहका नेताले अस्वीकार गरेपछि भाँडभैलो मच्चिएको हो ।

आफैंलाई आधिकारिक अध्यक्ष दाबी गरिरहेका ओली पक्षका रेवतीरमण भण्डारी र १० बुँदे पक्षका रमेश बस्नेत दुवैलाई हटाएर केन्द्रीय नेताहरूले खेमराज पोखरेललाई अध्यक्ष घोषणा गरेका थिए। केन्द्रीय सचिव भीम आचार्यको गृहजिल्लामा उनकै सहमतिमा भएको यो घोषणा उनकै समर्थकहरूले अस्वीकार गरेका छन्।

बुधबार दुवै जिल्ला कमिटीको संयुक्त बैठक बस्ने र नयाँ अध्यक्ष घोषणा गर्ने कार्यक्रम तय थियो। पार्टीका प्रदेश इञ्चार्ज भीम आचार्यसहितका नेताबीचको उक्त सहमति नमान्ने घोषणा जिल्ला कमिटीका ३२ सदस्यले गरेका थिए।

उनीहरूले विज्ञप्ति जारी गरेर बुधबार इनरुवामा आयोजित संयुक्त बैठक आधिकारिक नभएकोले धरानबाट सहभागी नहुने घोषणा गरेका थिए।

पार्टी विवाद मिलाउन गठित प्रदेशको कार्यदलले रमेश बस्नेत अध्यक्ष भएको नयाँ कमिटीलाई आधिकारिकता दिएकोले सोही कमिटीले बोलाएको बैठकमा मात्र सहभागी हुने पनि उनीहरूले बताएका थिए।

जिल्ला कमिटीका सदस्यले यस्तो घोषणा गरेको केहीबेरमा इनरुवामा संयुक्त बैठक सुरू भएको थियो। उक्त बैठकमा ओली पक्षबाटै पनि अवरोध भएको छ।

इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले नवघोषित अध्यक्ष पोखरेलले बोल्दै गरेको माइक खोसेपछि तनाव भएको थियो। चौधरीले पोखरेललाई अध्यक्ष नमान्ने घोषणा गर्दै अवैधको संज्ञा दिएका थिए।

चौधरी लगायतका नेताहरूले बैठकस्थल छाडेका थिए।