बाबुराम पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा उभिए - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

बाबुराम पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा उभिए



काठमाडौं- जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् ।

गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताएका हुन् ।

“संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन”, उनले भने, “जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृद्धि पनि हुँदैन ।” उनले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताए।

उनले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताए ।

अहिलेको नेपालको सङ्घीयता आफूहरुले खोजेको जस्तो सङ्घीयता नभएको पनि अध्यक्ष डा भट्टराईको भनाइ छ । अर्को प्रसङ्गमा उनले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभई पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने बताए ।