राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै, यस्तो छ तयारी
काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
११ कात्तिकमा बागमतीको तेस्रो मुख्यमन्त्रीमा रूपमा नियुक्त भएका पाण्डेले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रक्रिया आजै टुंग्याउने गरी तयारी गरेको जनाइएको छ । पाण्डे नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को चार दलीय गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका हुन् ।
पाण्डेले ११ कात्तिकमा चार सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । जसमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री, कांग्रेसका कृष्णलाल भडेल भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीकी कुमारी मोक्तान सामाजिक विकास मन्त्री बनेका थिए ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने निश्चित छ । सभामुखसहित १ सय ९ मत रहेको प्रदेशसभामा गठबन्धनको मात्रै ५९ मत छ । सरकार बनाउन ५५ मत भए पुग्ने अवस्थामा पाण्डेले गठबन्धनका ५९ प्रदेशसभा सदस्यकै मत पाउने छन् । गठबन्धनका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपासँग १ मत छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग ४३ सदस्य छन् । राप्रपा र नेमकिपासँग २–२ मत छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रालयको भागबन्डा मिलाउन पाण्डेले हालका तीन मन्त्रालय फुटाउने तयारी गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने तयारी गठबन्धनभित्र चलिरहेको हो । हाल ८ वटा मन्त्रालय रहेको बागमतीमा अब ११ वटा बनाउने जनाइएको छ ।