एमालेको महाधिवेशनमा दुईथरी शुल्क, विभिन्न दलका प्रतिनिधिलाई निम्तो
काठमाडौं- एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ ।
पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनले पारित गरेका दस्तावेजलाई १०औँ महाधिवेशनमा जानकारीका लागि टेबुल गरिने जानकारी दिएका हुन् ।
महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको एमालेले चिवतनमै महाधिवेशन गर्ने फेरि दोहो-याएर जानकारी दिएको छ । उक्त महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने जानकारी दिइएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा करिब पाँच लाख जना सहभागी हुने प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार निर्वाचनमार्फत नै नेतृत्व चयन गरिनेछ ।
साथै एमाले महाधिवेशनमा प्रतिनिधित्व गर्नेहरुलाई दुईथरी शुल्क निर्धारण गरिएको छ । प्रचार विभाग प्रमुख भट्टराईले केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट प्रतिनिधित्व गर्नेहरुलाई तीन हजार र तल निर्वाचित भएर आउनेहरुलाई दुई हजार प्रतिनिधि शुल्क तोकिएको जानकारी दिए ।
‘हामीले प्रतिनिधि शुल्क राखेका छौं । स्वतः प्रतिनिधित्व हुने केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट प्रतिनिधित्व गर्नेहरुलाई तीन हजार प्रतिनिधि शुल्क तोकिएको छ । तल निर्वाचित भएर आउनेहरुलाई दुई हजार प्रतिनिधि शुल्क तोकिएको छ। यो स्रोतबाट नै हामीले महाधिवेशनलाई सम्पन्न गर्छौं, ‘ उनले भने ।