पहिलो मन्त्रीपरिषद् बैठक: भीम आचार्यले गरेका सबै निर्नय खारेज
काठमाडौं – प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा मंगलबार बसेको पहिलो बैठकले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै उसले गरेका सबै निर्णय एकमुस्ट खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले प्रदेश १ का १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसङ्ख्यक, र सीमान्तकृत समुदाय मध्येबाट एक एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय पनि गरेको छ ।
साथै मन्त्रिपरिषद्को बैठकले लोपोन्मुख, संस्कृति संरक्षणको लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।