बागमतीमा अष्टलक्ष्मीले गरेका निर्णय खारेज, नयाँ बजेट ल्याउने
काठमाडौं- बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघिल्लो अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकारले गरेका निर्णय उल्ट्याउने भएका छन् । अष्टलक्ष्मी नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्ने पाण्डेले बताएका छन् ।
मुख्यमन्त्रीको शपथ ग्रहणपछि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिँदै गर्दा उनले अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्ने प्रतिक्रिया दिएका थिए । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको र दीर्घकालीन महत्वका निर्णय गरेकाले त्यस्ता निर्णय सच्याइने उनको भनाइ छ ।
उनले भ्रष्टाचारमुक्त बाग्मती प्रदेश बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको पनि बताए । मुख्यमन्त्री पाण्डेले नयाँ बजेट आउने संकेत समेत गरे । श्रमजीवी, मजदुर र सर्वहारा जनताको पक्षमा प्रदेश सरकारले नयाँ बजेट ल्याउने उनको भनाइ छ ।