भूमिहीन सुकुम्बासीको समस्या हल गर्ने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

भूमिहीन सुकुम्बासीको समस्या हल गर्ने प्रचण्डको घोषणा



चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिहीन सुकुम्बासीको नागरिकता सम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्नेगरी काम अगाडि बढाएको बताएका छन् ।

बिहीबार चितवनको माडी नगरपालिका–९ स्थित बाँदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बाँदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरुवात भएको बताए । “मैले भूमीसुधारमन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस् भनिसकेको छु,” उनले भने ।

उनले माडीको विकासमा आफूले निर्वाचनका क्रममा गरेका वाचा र प्रतिबद्धताअनुसार काम अगाडि बढाइरहेको पनि बताए ।

“हामीले निर्वाचनका क्रममा गरेका वाचालाई बिर्सेका छैनौ सोही वाचाअनुसार काम धमाधम अगाडि बढिरहेको छ । रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीहरूमा पक्कीपुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको छ,” प्रचण्डले भने, “सुकुम्बासी बस्ती हनुमान झुलामा बिजुली बत्ती विस्तारका लागि काम भइरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।”

स्थानीय फूलमाया प्रजाले ७२ वर्षको उमेरमा प्रचण्डको हातबाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिइन् । अर्की ७४ वर्षीय कृष्णमाया घलानले नागरिकता हातमा पाउँदा दङग पर्दै अब आफूले बृद्धभत्ता पाउनेमा खुसी व्यक्त गरिन् । सात सन्तानकी हजुरआमा उनका सातै सन्तानसँग नागरिकता छैन ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रपोगान्डाका लागि माडीमा राम मन्दिरको घोषणा गरेको बताउँदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताए ।