चोलेन्द्रलाई संवैधानिक फोरमको साथ, डटेर लड्न आग्रह
काठमाडौं- संवैधानिक फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा नदिन आग्रह गरेको छ । फोरमका अध्यक्ष अर्जुनकुमार अर्यालले प्रधानन्यायाधीश राणालाई लिखित पत्र बुझाउँदै पदबाट राजीनामा नदिन आग्रह गरेको हो ।
मन्त्रिपरिषदमा भाग लिएको भनिएको विषयपछि सहकर्मी न्यायाधीशसँगै नेपाल बार एसाेसिएसन लगायत विभिन्न संघ संस्था तथा पूर्वप्रधानन्यायाधीशहरूले समेत प्रधानन्यायाशीश राणाको राजीनामा माग गरिरहेका छन् । अन्यथा आन्दाेलन चर्काउने चेतावनी पनि उनीहरूले दिएका छन् ।
तर अहिलेको अवस्थामा प्रधानन्यायाधीशले राजीनामा दिए न्यायापालिकामा थप गम्भीर संकट श्रृजना हुने र यसबाट न्यायालयलाई अस्थिर बनाउन चाहने तत्वलाई नै फाइदा पुग्ने भएकाे जनाउँदै संवैधानिक फोरमले राजीनामा नदिन राणालाई लिखित आग्रह गरेको हो ।
‘सम्माननिय प्रधानन्यायाधीशज्यूबाट राजीनामा आएमा न्यायपालिकामा थप गम्भीर संकट श्रृजना हुन जाने र यसबाट न्यायालयलाई अस्थिर बनाउन चाहने तत्वलाई नै मद्दत पुग्ने भएकोले यस कठिन परिस्थितिको सामना गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्था र विश्वास बचाउने सम्माननिय प्रधानन्यायाधीशज्यूको प्रमुख कर्तव्य पनि हो’, पत्रमा उल्लेख छ ।
‘समयक्रमसँगै न्यायपालिकामा आवश्यक सुधार हुँदै जानेछ भन्ने विश्वास व्यक्त गर्दै गैरसंवैधानिक बाटोबाट प्रधानन्यायाधीश जस्तो गरिमामय पद रिक्त गरिएमा नेपालको इतिहासमै दुःखद घटना हुने भएकोले संविधान, विधि र प्रक्रियाका पक्षमा दृढतापूर्वक उभिन विनम्रतापूर्वक अनुरोध गर्दछौँ’, पत्रमा अगाडि भनिएको छ ।
स्वतन्त्र न्यायपालिकाको मर्म तथान्यायपालिका माथिको जनआस्था धुमिल हुने गरी संवैधानिक व्यवस्थाविपरीत प्रधानन्यायाधीशको राजीनामा माग भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि फोरमले जनाएको छ ।