एक्लै सर्वोच्च हाँक्दै जबरा : तोके ८ इजलास, १६७ पेशी
काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नोसहित ८ इजलास तोकेका छन् ।
केही दिनदेखि १५ न्यायाधीशले उनको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेको भएतापनि जबराले बुधवार र बिहीवार आफूसहितका इजलास तोक्न छाडेका छैनन् ।
बिहीवारका लागि जबराले आफ्नो एकल इजलाससहित ८ इजलासअन्तर्गत १६७ वटा पेशी तोकेका छन् ।
बुधवार पनि उनले आफ्नो एकल इजलासमा ५ वटा निवेदनमाथि सुनुवाई गरेका थिए । बाँकी इजलासमा भने न्यायाधीशहरू उपस्थित भएका थिएनन् ।
जबराले तोकेको इजलास छल्न न्यायाधीशहरू आन्तरिक छलफलमा व्यस्त रहेका छन् । आज पनि न्यायाधीशहरू कुनै पनि इजलासमा उपस्थित नहुने स्रोतको दाबी छ ।
बार एसोसियसनले जबराले तोकेको कुनै पनि इजलासमा बहस गर्न नजाने बताइसकेको छ भने न्यायाधीशहरूले जबराको राजीनामा माग गरिरहेका छन् ।
सत्तारूढ गठबन्धनसँग भाग खोजेको आरोप लागेका जबरामाथि यतिबेला राजीनामा गर्नुपर्ने चर्को दबाब छ । तर उनले आफ्नो राजीनामाको विषय टार्दै आइरहेका छन् ।
मंगलवार बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै जबराले राजीनामा नदिने प्रष्ट पारेका थिए ।