अध्यक्ष ओलीले मागे परमादेश दिने पाँचै जना न्यायाधीशको राजीनामा - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

अध्यक्ष ओलीले मागे परमादेश दिने पाँचै जना न्यायाधीशको राजीनामा



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको मात्रै नभएर परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिंदा राम्रो जिकिर गरेका छन्।

एमालेका देशभरका स्थानीय तहको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले परमादेशका कारण यो अवस्था आएको बताएका छन्। “सर्वोच्च अदालतमा तमाशा देखिएको छ। श्रीमान्‌हरू एकअर्काले गरेका फैसला आफैं उधिन्न थालेका छन्,” ओलीले भने।

मन्त्रिपरिषद्‍मा भागबण्डा मागेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश र बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विरोध गर्दै आएका छन्। दुई दिनदेखि बेन्च बस्न सकेको छैन।

यसलाई लिएर ओलीले सर्वोच्चमा तमाशा भइरहेको बताएका हुन्। यो अवस्था आउनुमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको परमादेश मुख्य कारण भएको ओलीकाे भनाइ थियो।

“परमादेश त पाँचै जनाले गरेका थिए। एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमान्‌ज्यूहरू,” ओलीले भने, “पाँचै जनाले राजीनामा गरेको राम्रो होइन र?”

अहिले न्यायाधीशहरूले दूषित फैसला भनिरहेको उल्लेख गर्दै आफूहरूले त्यस वेला नै भनेको उनले उल्लेख गरे। लोकतन्त्र रक्षाका लागि फैसला मानेको र कार्यान्वयन गरेको ओलीको भनाइ थियो।

त्यति वेला आफूलाई जिम्मेवार भूमिकामा प्रस्तुत गरेको र अब पनि जिम्मेवार भूमिका रहने उनले बताए। यसका लागि लोकतन्त्र रक्षा गर्नुपर्ने उनको भनाइ थियो।

ओलीले भने, “बारले इजलास गठन गर्ने, अधिवक्ताले इजलास गठन गर्ने, यस्तो ढङ्गले राष्ट्रपतिलाई परमादेश जारी गरिएको थियो।” अहिले पनि त्यही गर्न खोजिएको उनको जिकिर थियो।