पालिकास्तरमा क्रान्तिकारी नेतृत्व छान्न घनश्यामको आग्रह - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

पालिकास्तरमा क्रान्तिकारी नेतृत्व छान्न घनश्यामको आग्रह



काठमाडौँ- पालिकासस्तरीय अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका उप–महासचिव घनश्याम भूसालले क्रान्तिकारी नेतृत्व छान्न आग्रह गरेका छन् । पालिका अधिवेशनले क्रान्तिकारी र लोकतान्त्रिक नेतृत्व ग्यारेन्टी गर्न सक्ने नेतृत्व छनोट गर्न सके पार्टीभित्र देखिएको समस्या समाधान गर्न सकिने भुसालले बताएका छन् ।

आज मंगलबार हुने पालिका अधिवेशनमा सहभागी हुन कार्यकर्ताहरुलाई आह्वान गर्दै भूसालले सामाजिक सञ्जालमार्फत पालिकास्तरमा उचित नेतृत्व छनोट भए त्यसले माथिल्लो कमिटीमा आउन सक्ने व्यक्तिवाद, अराजकतावाद, दक्षिणपन्थी जस्ता खतरासँग सजिलै जुध्न सकिने बताएका हुन् ।

‘पालिकास्तरको नेतृत्वको क्रान्तिकारी र लोकतान्त्रिक चरित्रको ग्यारण्टी गर्न सकियो भने माथिल्लास्तरमा आउन सक्ने विचार तथा सिद्धान्तहीनता र त्यसले उत्पन्न गर्ने व्यक्तिवाद, अराजकतावाद, दक्षिणपन्थजस्ता खतरासँग सजिलै जुध्न र परास्त गर्न सकिन्छ,’ भूसालले भनेका छन्,’त्यसैले पालिकास्तरका अधिवेशनहरुमा क्रान्तिकारी, लोकतान्त्रिक तथा समावेशी कमिटीहरुको निर्वाचन हुने कुराको औधि महत्त्व छ ।’

एमालेले बाढी पहिरोले प्रभावित बाहेक सबै स्थानीय तहमा मंगलबार एकैपटक पार्टीको अधिवेशन गर्दैछ । यसअघि शनिबार देशभरका सबै बडाको एकै स्थान अधिवेशन गरेको थियो ।

उप–महासचिव भूसालले देशभित्र देखिएको समस्या समाधान गर्नका लागि पार्टीले ठोस कार्यक्रम र संगठनात्मक संरचना निर्माण गर्न भने बाँकी रहेको बताएका छन् ।

‘दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने दिशामा लोकतान्त्रिक अभ्यासका साथ अगाडि बढ्न हामीले विकसित गरेको कार्यदिशा कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो’ उनले भनेका छन् ‘त्यसअनुरुप समाजवादको लागि आजको ठोस कार्यक्रम र त्यसै अनुरुप सङ्गठनात्मक योजना निर्माण गर्न बाँकी छ ।’

भूसालले दलाल पुँजीवादका विरुद्ध विचार, सिद्धान्त, राजनीति र सङ्गठनका क्षेत्रमा तयारी गर्दै र त्यसका आधारमा सिङ्गो पार्टीलाई एकताबद्ध पार्दै अगाडि बढ्न सक्यौँ भने हामीले जुनसुकै चुनौतीलाई सामना गर्न सक्ने बताएका छन् ।

‘दलाल पुँजीवादका विरुद्ध लड्न सक्ने पार्टी कमिटीहरुको निर्माण गर्नु हाम्रा लागि सबैभन्दा महत्त्वको काम हो’ उनले भनेका छन् ।