कारबाहीमा परे जुवाडे एसपी सन्तोष राठौर - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

कारबाहीमा परे जुवाडे एसपी सन्तोष राठौर



काठमाडौं- सार्वजनिक रूपमा जुवा खेलिरहेको भिडियो भाइरल बनेका सर्लाहीका एसपी सन्तोष सिंह राठौरमाथि कारबाही भएको छ । कारबाही स्वरूप उनको सरुवा गरिएको छ । उनी अहिले प्रहरी तालिम केन्द्रमा तानिएका छन् ।

उनलाई प्रहरी तालिम केन्द्रमा सरुवा गरिएपछि उनको ठाउँमा कृष्ण प्रसाईँलाई खटाइएको छ । केहिदिन अगाडी सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख एसपी राठौर तथा सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ लगायत उच्च अधिकारीले सार्वजनिक स्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियोमा उनीहरू पदीय पर्यादा भूलेर सार्वजनिक स्थानको कुनै चउरमा बसेर तासमा मस्त भएको देखिन्छ । जुवातास खेल्नु कानुनविपरीतको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार, जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ ।

यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमनी पोखरेलले सार्वजनिक ठाउँमै तास खेलेको भिडियो भए कारबाही हुने बताएका थिए । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटको पनि काज सरुवा भएको छ । उनको ठाउँमा बसन्त रजौरेलाई खटाइएको छ ।