गृह मन्त्रालयको डाटा: अहिलेसम्म ८८ को मृत्यु, ३० जना बेपत्ता - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

गृह मन्त्रालयको डाटा: अहिलेसम्म ८८ को मृत्यु, ३० जना बेपत्ता



काठमाडौं- वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोमा परेर बेपत्ता हुनेको संख्या ३० पुगेको छ।अधिकांशको मृत्यु पहिरोमा परेर भएको गृहमन्त्रालयले जनाएको छ।

बिहीबार बिहान मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ जनाको मृत्यु पुष्टि भएको थियो। विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ। इलाम र डोटीमा १३÷१३ जनाको मृत्यु भएको छ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।

विपद्बाट देशका २० जिल्ला प्रभावित भएका छन्। बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० जना बेपत्ता भएका गृहमन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ। रासस