बुटवल अपडेट: ४ को मृत्यु, ८१ घाइते, कर्फ्युपछि झन् तनाव
बुटवल- रुपन्देहीको मोतिपुरमा आइतबार दिउँसो भएको प्रहरी र औद्योगिक क्षेत्र कब्जा गर्ने समूहबीचको झडपमा प्रहरीले गोली चलाएपछि तनावग्रस्त बनेको छ । झडपमा ८१ जना घाइते भएका छन् ।
स्थानीय र प्रहरीबीच भएको झडपमा ४० जना सुरक्षाकर्मी र ४१ जना जग्गा हडप्न खोज्नेहरु हुन् । सुरक्षाकर्मीमध्ये १७ जना सशस्त्र प्रहरी बल र २३ जना नेपाल प्रहरीका भएको बताइएको छ ।
झडपमा गम्भीर घाइते भएका चार जनाको ज्यान गएको छ भने अन्यको अस्पतालमा उपचार भैरहेको बताइएको छ । मृत्यु हुनेहरूको पहिचान खुलेको छैन ।
बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ मा रहेको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न अस्थायी रुपमा पाल र टहरा बनाइ जग्गा कब्जा गर्ने समूह बसेपछि सुरक्षाकर्मीसँग झडप भएको हो । घाइतेमध्ये अधिकांश लुम्बिनी अञ्चल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएको बताइन्छ ।
उक्त औद्योगिक क्षेत्रलाई मध्यभागमा राखेर केही क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज अपरान्हबाट कफ्र्यु आदेश जारी गरेको छ । तर कफ्र्यु लगाइएको क्षेत्रभन्दा बाहिरको तिलोत्तमा नगरपालिका ३ स्थित मगरघाटको तिनाउ पुलमा प्रदर्शनकारीले ढुंगामुढा तेर्साएका छन् । कतिपय स्थानमा भित्री सडकमा अवरोध पुर्याएको छ ।
किन भयो मोतिपुर तनावग्रस्त ?
औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। सो जग्गा अतिक्रमण गर्न साविक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीय बुटवल आएको प्रहरीले जनाएको छ।
अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ। जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए।
करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो। विसं २०७२ चैत १ गते मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो।
बुटवल उप-महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो।
औद्योगिक क्षेत्रको जग्गामा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
प्रशासनले तीन दिनदेखि राति टहरा भत्काउँदै आएको थियो। अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।