पोखरामा चिप्लिए देउवा, यसरी बने आलोचनाको शिकार
पोखरा- बोल्न नजान्दा र तथ्यमा ज्ञान नभई उत्तेजनामा भाषण गर्दा कतिपय नेताहरू आलोचनाको शिकार बन्ने गरेका तमाम उदाहरणहरू छन् । यस्तै विषयको अध्ययन नगरेर वा नजानेर उत्तेजक भाषण गर्दा देशकै प्रधानमन्त्री शेरबहादुर देउवा पनि चिप्लिएका छन्।
आइतबार पोखरामा गण्डकी प्रदेशलाई शाक्षर घोषणा गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री देउवाले पोखरा, नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा स्थापित साक्षर प्रदेशको स्तम्भ अनावरण गरे । त्यसपछि सभागृहमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री देउवाले साक्षर घोषणा भएकोमा गण्डकीवासी र गण्डकी सरकारलाई बधाई दिए । उनले ‘देशकै विद्वानले जन्म लिएको ठाउँ गण्डकी पहिलो साक्षर घोषित’ भएको भनेर बधाई दिए ।
तर, देशको प्रधानमन्त्री जस्तो व्यक्ति यसैमा चिप्लिए । गण्डकी देशको पहिलो नभई दोस्रो साक्षर घोषित प्रदेश हो । यसअघि, यही असोज ११ गते वाग्मती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भइसकेको छ ।
त्यसपछि देउवाले लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्टको जन्म गण्डकीमा भएको र उनीहरू ठूला विद्वान् रहेको बताए । गण्डकीका विद्वान् भनेर नाम लिएका दुई साहित्यकारको जन्म काठमाडौंमा भएको हो ।
तर, प्रधानमन्त्री देउवाले भने, “गण्डकी साक्षर घोषणा भएको छ । गण्डकी सरकारसहित सबैलाई बधाई । यो प्रदेशको इतिहासमा नै ठूला विद्वान् जन्मेको ठाउँ हो यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल यहीँ जन्मिनुभएको हो । मोतीराम भट्ट पनि यहीँ जन्मिनुभएको हो । साक्षर घोषणा भएको पहिलो प्रदेश भएको छ । यसका लागि सबैलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”
गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले बोल्ने क्रममा दुई ठाउँमा त्रुटि गरे। सामान्य नेताले बोलेको भए त्यति खोजीको विषय बन्ने थिएन होला। देशकै उच्च ओहदामा रहेका व्यक्ति नै चिप्लिँदा त्यसको चर्चा नहुने त कुनै भएन।
साक्षर घोषणा समारोहमा उपस्थित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने, संविधानको मर्मअनुसार काम गर्न र देशलाई नै साक्षर बनाउन सबै एकजुट हुनुपर्ने बताए। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपी कोइरालाले लिएको समाजवादी लक्ष्यमा शिक्षालाई प्राथमिकतामा राखिएको बताए। तथ्यांकअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन्। सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशत मात्रै नागरिक साक्षर भएको तथ्यांक छ।
मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वतका ९६.९३ प्रतिशत नागरिक साक्षर भएको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ।
जिल्लागत रूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन्। मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो। २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ माघ १८ मा घोषणा भएको थियो।