अदालत र संविधानको धज्जी उडाएको भन्दै एमालेले माग्यो प्रधानन्यायाधीशको राजीनामा
काठमाडौं-नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताउँदै राजीनामा मागेका छन् ।
नेता भट्टराईले प्रधानन्यायाधीश राणाको नैतिकता माथि प्रश्न उठाउँदै राजीनामा मागेका हुन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।
उनले परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको समेत बताएका छन् । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको भन्दै भट्टराईले प्रश्न उठेपछि स्वतन्त्र न्यायालयको छवि बचाउने हो भने अब प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपयुक्त हुने बताएका छन् ।
उनले गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिनु नै समस्याको समाधान नहुने पनि बताए । दोष गजेन्द्र हमालको नभएर दोष, प्रधानमन्त्री, सरकार र प्रधानन्यायाधीशको भएकाले नैतिकताको प्रश्न उठेको उनको दाबी छ । उनले हिजो एमालेमाथि आरोप लगाइएको तर आज प्रधानमन्त्री र प्रधानन्यायाधीशको व्यवहारबाटै कस्तो सेटिङ रहेछ भन्ने प्रष्ट भएको बताएका छन् ।
नेता भट्टराईले संसदीय मूल्य मान्यता र स्वतन्त्र न्यायपालिकाको मान्यताविरुद्ध गठबन्धन सरकार र न्यायालय हिँडिरहेको भन्दै गजेन्द्र हमालको मात्रै कुरा नभएर अदालत र सरकार, लोकतन्त्र र संविधानको धज्जी उडाएको आरोप लगाए ।