प्रहरी र स्थानीयबीच झडप हुँदा सुनसरी तनावग्रस्त - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्रहरी र स्थानीयबीच झडप हुँदा सुनसरी तनावग्रस्त



काठमाडौं- सुनसरीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका कारण सुनसरी जिल्ला प्रहरी कार्यालय परिसद तनावग्रस्त बनेको छ । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि सुनसरी परिसर तनावग्रस्त बनेको छ ।

आइतबार पीडितका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुंगामुढापश्चात् प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको ‘हत्या गरेको’ भन्दै लास नबुझ्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने जानकारी दिए ।

झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा गाउँपालिका–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए ।

पीडित पक्षले भने ‘केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको’ बताएका छन् । उनीहरूले युवतीलाई परिवार पक्षले छुटाएर लगेको र युवकलाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको दाबी गरेका छन् ।