प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन चर्काउने तयारी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन चर्काउने तयारी



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चर्काउने तयारी भएको छ । सत्ता गठबन्धनसँग मन्त्रीको भागबण्डा लिएको विषयमा कानुन व्यवसायीहरुले गम्भीर आपत्ति जनाइसकेका छन् भने आन्दोलनको समेत तयारी गरेका छन्।

शुक्रबार ५ घण्टा लामो छलफलमा प्रधानन्यायाधीशले न्यायालय बदनाम गराएको भन्दै यसविरुद्ध बार कडा रुपमा प्रस्तुत हुनुपर्ने वरिष्ठ कानुन व्यवसायीहरुले माग गरेका हुन्। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य समेत सहभागी भएको छलफलमा पूर्व अध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु सहितका कानुन व्यवसायी थिए।

प्रधानन्यायाधीशको यो कदमले न्यायालयको स्वतन्त्रतामा प्रश्न उठेको भन्दै न्यायालय सुधारका लागि बारले अग्रसरता देखाउनु पर्ने कानुन व्यवसायीको माग छ। यदि बारले तत्काल अग्रसरता नदेखाए समानान्तर कमिटी बनाएर प्रधानन्यायाधीशको कदमविरुद्ध उत्रने समेत कानुन व्यवसायीको चेतावनी छ।

न्यायपालिकाले कार्यपालिकासँग सत्ता साझेदारी गर्नु गम्भीर भएको उनीहरुको ठहर छ। संस्थागत रुपमा नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनले कुरा नउठाए समानान्तर कमिटी बनाएर बाहिरबाट पनि दबाब दिने तयारी भएको बताइएको छ ।

बारले सर्वोच्चलाई मिति तोकेरै ५ विषय कार्यन्वयन गर्न अल्टिमेटम दिनु पर्ने कानुन व्यवसायीको माग छ। उनीहरुले सर्वोच्चमा तत्काल गर्नु पर्ने र दीर्घकालमा गर्नु पर्ने सुधारको सूची समेत बारलाई बुझाएका छन्।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको टोलीले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र त्यसका लागि समय तोकेरै बारले प्रधानन्यायाधीशसँग कुरा गर्नु पर्ने र नगरे आन्दोलन गर्नु पर्ने माग गरिएको छ।

प्रतिवेदनमा न्यायालयभित्र बढ्दो विकृति, विसंगति र अनियमिततालाई नियन्त्रण र न्यूनीकरण गरी कसरी न्यायालयलाई सँच्चैको स्वतन्त्र, सक्षम, जवाफदेही र निष्पक्ष बनाउन सकिन्छ भन्ने बारेमा पछिल्ला समयमा थुप्रै सरोकार र चिन्ताहरु प्रकट भएको बताइएको छ।

न्यायिक नेतृत्वको एकपछि अर्को विवादास्पद कार्यहरुमाथि सार्थक खबरदारी र हस्तक्षेप हुन नसकेमा त्यसले सिङ्गो न्यायपालिकाको सम्मानमै निकै ठूलो क्षति पुग्ने र संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरणको अवधारणा नै निस्तेज हुने खतरा देखापरेको कानुन व्यवसायीको ठहर छ।