एमसीसी नेपालको हितमा छैन भने अमेरिकालाई सरी भनौँ: परराष्ट्रमन्त्री खड्का
काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा नभए अमेरिकालाई सरी भन्न सक्नुपर्ने बताएका छन् । उनले नेपालको हितमा भए पास गर्नुपर्ने बताए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढ्नुपर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रिय सहमतिबाट गर्ने हो । हाम्रो हितमा छ भने पास गर्ने हो छैन भने किन पास गर्ने ?,’ परराष्ट्रमन्त्री खड्काले भने ।
एमसीसीमा माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर पनि प्रश्न गरे । ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं,’ उनले भने ।
‘अब एमसीसी एकस्वरबाट अगाडि बढ्नुपर्छ । हाम्रो हितमा छ भने पास गरौं छैन भने अमेरिकालाई भनौं । यो हाम्रो हितमा पाएनौं,’ उनले थपे, ‘त्यसपछि ड्यामेज कसरी कन्ट्रोल गर्ने होला ?’ एमसीसीबारे जनतामा मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन तलसम्म तलसम्म गएको पनि मन्त्री खड्काको भनाइ थियो ।
परराष्ट्र सम्बन्धी सबै विवादित विषयमा राजनीतिक दलहरूबीच सहमतिमा नै अगाडि बढाउनुपर्ने खड्काको बताए ।