देउवा-पौडेल बाझाबाझ, कुरा नमिलेपछि बैठक छोडेर निस्किए पौडेल समूह
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बालुवाटारमा बसेको बैठकमा देउवा र पौडेल बाझाबाझ गरेका थिए ।
मन्त्रालयको भागबण्डा मिलाउन बसेको बैठक दुई नेताको चर्काचर्कीपछि बिना निष्कर्ष टुंगिएको छ । बैठकमा नेता पौडेलले तीनजना मन्त्री मागेपछि देउवा बम्किएका थिए ।
बालुवाटारमा बसेको बैठकमा पौडेल खेमाले बुधबार तीनजना मन्त्री माग गरेको एक नेताले बताए। मन्त्रीको टुंगो लाग्न नसकेपछि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह बैठकबाट हिँडेका थिए।
पौडेलको सचिवालयका अनुसार छलफलका क्रममा रौतहट र सर्लाहीको क्रियाशील विवादलाई लिएर पौडेल र सिंहको देउवासँग चर्काचर्की भएको थियो । यी दुवै जिल्लाका कार्यकर्ता क्रियाशील सदस्यता विवादलाई दिएर अनशनमा छन्।
विवाद समाधान गरेर अनशनरत कार्यकर्तालाई दसैं मान्ने वातावरण बनाउनुपर्ने पौडेल र सिंहको माग थियो।