प्रदेशसभा बैठकबाटै मागियो मुख्यमन्त्री राउतको राजीनामा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रदेशसभा बैठकबाटै मागियो मुख्यमन्त्री राउतको राजीनामा



जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई छानबिनमा सहयोग गर्न मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

बुधबार प्रदेशसभा बैठकमा बोल्दै नेता सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापमारीपछि प्रदेश र प्रदेशका जनताको गरिमा गिरेकोले मुख्यमन्त्री लालबाबु राउतले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

‘अख्तियारलाई प्रभावित पार्न मसाल जुलुस निकाल्नु हुन्छ, वितरण गरिएका साइकल चढेर जुलुस निकाल्न गइहाल्नु हुन्छ,’ मुख्यमन्त्री राउतलाई सोनलले भने,‘निश्पक्ष छानबिनमा सहयोग गर्नुस्, वातावरण बनाउनुस्। मार्गप्रशस्त गरेर भए पनि छानबिन प्रक्रियामा सहयोग गर्नुस्।’

सोनलले मुख्यमन्त्री आफैंले अख्तियारलाई छापा हान्न निमन्त्रणा गरेको जिकिर गरेका छन्।

‘मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा हान्यो, त्यसको पनि आफ्नो कार्यक्षेत्र छ,’ प्रदेश समन्वय समितिको बैठकमा बोलेको कुरा स्मरण गराउँदै राउतलाई उनले भने,‘सुशासनको नाउँमा तपाईंले आफैं अख्तियार प्रमुखलाई बोलाएर प्रदेश २ को मन्त्रालय र
कार्यालयहरूमा छापा हान्न भनेको होइन ?’

संघीयता समाप्त पार्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा हानेको मुख्यमन्त्री राउतले बताइरहँदा सोनलले अख्तियारले छापा हान्दैमा संघीयतामाथि कुनै खतरा नआउने उनले दाबी गरे।

‘तपाईं आफैंले निमन्त्रणा दिएर अख्तियार आउँछ अनि भन्नु हुन्छ संघीयतामाथि खतराभयो,’ सोनलले भने,‘संघीयता कुनै लौकाको बिऊ हो ररु जुन अख्तियारको छापापछि खतरामा आउँछ ? अख्तियारको छापाले संघीयता अन्त्य हुनेवाला छैन।’

प्रदेश २ का पूर्वभौतिक विकासमन्त्रीसमेत रहेका सोनलले अख्तियारको छापामारीपछि मुख्यमन्त्री नैतिकताको घेरामा परेको जिकिर गरे। प्रदेशको जनताको गरिमाको उचाइँ बढाउन पनि मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरेका छन्।