नेपाल-भारत सुरक्षा बैठक दिल्लीमा बस्दै: कालापानी र सुस्ताको कुरा गायब - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

नेपाल-भारत सुरक्षा बैठक दिल्लीमा बस्दै: कालापानी र सुस्ताको कुरा गायब



काठमाडौं- नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा मंगलबार बैठक बस्न लागेको बताइएको छ । बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो ।

तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल नेतृत्वको टोली हिजो भारतको नयाँदिल्ली पुगेको छ । नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी हुनेछन् ।

भारतका तर्फबाट भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँदैछ । दुई देशले आलोपालो बैठक आयोजना गर्ने भनिए पनि नियमित बैठक बस्न सकेको छैन। यसअघि चौथो बैठक २०७६ मंसिर ४ र ५ गते पोखरामा बसेको थियो ।

पहिलो पटक २०६९ सालमा भारतमा बैठक बसेको थियो । दोस्रो बैठक २०७२ सालमा नेपालमा र तेस्रो बैठक २०७३ सालमा नयाँदिल्लीमा बसेको थियो । भारतले २०७६ कात्तिकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

नेपालले लिम्पियाधुरासहित २०७७ साल जेठ ७ मा राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि सीमा सुरक्षा बैठकसहित कुटनीतिक वार्ता र छलफल रोकिएको थियो । पछिल्लो पटक भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीमा तुइनको लठ्ठा खुस्काएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भएका छन् ।

यसबारेमा जवाफ मागेर नेपालले भारतलाई पत्र पठाएको भए पनि जवाफ दिएको छैन।