एउटा घटनाले भारतको राजनीति हल्लायो, कैयौँ नेता ‘नजरबन्द’मा, इन्टरनेट बन्द
काठमाडौं- उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाले भारतको राजनीतिमा खैलाबैला मच्चाएको छ।
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई लखिमपुर जाने क्रममा प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
विपक्षी नेताहरू लखिमपुर पुग्ने होडबाजीमा लागेका छन् । तर उनीहरूलाई त्यहाँ जान रोक लगाइएको छ । अहिले कैयौं नेताहरू नजरबन्दमा भएको बताइएको छ । भारतको राजनीति अहिले हल्लिएको छ ।
यस्तै उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले पनि लखिमपुर जाने घोषणा गरेका छन् । तर उनको घरअगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ र ट्रक तेर्स्याएर सडक बन्द गरिएको छ ।
प्रशासनले उनलाई घरबाट बाहिर ननिस्कन भनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको घरबाहिर ठूलो संख्यामा समाजवादी पार्टीका कार्यकर्ता पनि जम्मा भएका छन् ।
उता बहुजन समाजवादी पार्टीका महासचिव सतिशचन्द्र मिश्रलाई पनि लखिमपुर जान रोक लगाइएको छ । लखनउमा रहेका उनले आफूलाई घरबाट बाहिर नजान नोटिस जारी गरिएको बताएका छन् ।
बसपा प्रमुख मायावतीले ट्वीट गरेर मिश्रलाई नजरबन्द गरिएको बताएकी छन् । आम आदमी पार्टीका राज्यसभा सांसद सञ्जय सिंहलाई पनि लखिमपुर जाने क्रममा मध्यराति महाराजगञ्जमा रोकिएको थियो ।
लखिमपुर खिरीमा आइतबार भएको हिंसामा आठ जनाको मृत्यु भएको छ । उप मुख्यमन्त्री केशव प्रसाद मौर्य एक कार्यक्रममा सहभागी हुन लखिमपुर आउने भएपछि किसानहरू विरोध प्रदर्शन गरिरहेका थिए ।
यसक्रममा हिंसा भड्केको थियो । केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले प्रदर्शनमा रहेका किसानहरूमाथि कार कुदाएपछि हिंसा भड्किएको आरोप लागेको छ । लखिमपुरमा इन्टरनेट सेवा बन्द गरिएको छ ।