विवादमा विमलेन्द्र निधि : आन्तरिक मामिलामा भारत गुहार्ने गरेको खुलासा
काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि विवादमा तानिएका छन् । भारतीय पूर्वराजदूत रञ्जित रेले आफ्नो पुस्तकमा निधिले नेपालका आन्तरिक मामिलामा पनि आफूसँग सल्लाह गर्नेगरेको खुलाएपछि उनी विवादमा तानिएका हुन् ।
आसन्न कांग्रेसको महाधिवेशनमा सभापतिको उमेद्वारी घोषणा गरी चुनावको तयारीमा लागेका निधि गृहमन्त्री हुँदा नेपालका आन्तरिक मामिलामा समेत भारतीय राजदूतको सल्लाह लिने गरेको र निर्णय गर्नुअघि सोध्ने गरेको खुलेको छ ।
रञ्जित रेको नयाँ पुस्तक ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)’ मा निधीबारे अत्यन्त विवादित तरिकाले व्याख्या गरिएको छ । लेखक रेले पुस्तकमा गरेको दाबी अनुसार नेपालका लागि अत्यन्त घातक तरिकाले निधिले गतिविधि गर्नेगरेको खुलेको छ ।
उक्त पुस्तकमा विमलेन्द्र निधिले आफू गृहमन्त्री हुँदा तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई आईजीपी बनाउने भन्नेबारे छलफल गरेको उल्लेख छ । रेले आफ्नो पुस्तकको पेज नम्बर १७मा आईजीपी नियुक्तीको विषयमा आफूले भोगेको घटना सम्झदै लेखेका छन्,’ बहालवाला प्रहरी महानिरीक्षकको पदावधि सकिँदै थियो । नेपालमा नयाँ आईजीपी चयन गर्नुपर्ने थियो । त्यही बेला गृहमन्त्रीले फोन गर्दै मसँग आईजीपीका दाबेदारहरुका बारेमा मेरो धारणा मागे ।’
राजदूत रेले पुस्तकमा निधीको नाम किटेका छैनन् तर त्यसबेला निधि नै गृहमन्त्री थिए । पुस्तकको १८ नम्बर पेजमा रे लेख्छन्,’आईजीपीका लागि योग्य भनिएका ती चारै जना दाबेदारहरू भारतसँगको सम्बन्धलाई मजबुद बनाउन योग्य रहेको भन्दै मलाई भेट्न इन्डिया हाउस आएका थिए ।’
‘ती चारमध्ये एकजनाले सेवाबाटै राजीनामा दिए । लगत्तै एमालेका तर्फबाट सांसद् बने,’ उनले लेखेका छन् । यसरी सांसद् बन्ने तत्कालीन डीआईजी नवराज सिलवाल थिए । उनी २०७४ सालको चुनावमा एमालेको तर्फबाट ललितपुर-१ बाट निर्वाचित भएका थिए ।
निधि गृहमन्त्री हुँदा आईजीपी नियुक्तिको प्रकरण पेचिलो बनेको थियो । त्यतिबेला वरीयता मिचेर जयबहादुर चन्दलाई आईजीपी बनाउनेलगायतको विषयले चर्चा पाएको थियो । सोही घटनाबारे रेले आफ्नो पुस्तक ‘काठमाडौं डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज’ मा सोही प्रकरण उल्लेख गरेका हुन् ।
निधिको आपत्ति
तर रञ्जित रेले आफ्नो पुस्तकमा उल्लेख गरेको विषयप्रति कांग्रेसका उपसभापति निधिले आपत्ति जनाएका छन् । रेले आफ्नो पुस्तकमा निधिले नेपाल प्रहरीको आईजीपी नियुक्तिका लागि सुझाव मागेको उल्लेख गरेकोमा निधिले भने त्यसको खण्डन गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा आफ्नो भनाइ सार्वजनिक गर्दै निधिले लेखेका छन्, ‘म गृहमन्त्री हुँदा आईजीपी नियुक्तिका लागि भारतीय राजदूत वा कुनै राजदूतसँग रायसुझाव मागेको थिइनँ, माग्ने कुरा पनि होइन । यस्तो निराधार लेखाइप्रति घोर आपत्ति व्यक्त गर्दछु ।’
निधि गृहमन्त्री हुँदा आईजीपी नियुक्तिको प्रकरण पेचिलो बनेको थियो । त्यतिबेला वरीयता मिचेर जयबहादुर चन्दलाई आईजीपी बनाउनेलगायतको विषयले चर्चा पाएको थियो । सोही घटनाबारे रेले आफ्नो पुस्तक ‘काठमाडौं डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज’ मा सोही प्रकरण उल्लेख गरेका हुन् ।