अखिल क्रान्तिकारीको नेतृत्व चयन झनै अन्यौलमा - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

अखिल क्रान्तिकारीको नेतृत्व चयन झनै अन्यौलमा



काठमाडौँ- नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन शनिबार पनि जारी छ । गत बिहीबारदेखि काठमाडौँमा सुरु भएको सम्मेलन शनिबार समापन हुने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ । तर, संगठनको नेतृत्व कसले लिने भन्नेबारेमा अन्यौल देखिएको छ ।

संगठनका नेताहरूले अध्यक्ष प्रचण्डलाई आगामी नेतृत्व चयन गर्ने जिम्मेवारी दिएसँगै नेतृत्व चयन अन्यौल बनेको हो । प्रचण्ड स्वयमले समेत संगठनको अध्यक्षमा दाबेदारी दिएका विद्यार्थी नेताहरूसँग छलफल गरेका थिए ।

संगठनको नेतृत्वमा मुख्य चार प्रतिस्पर्धी रहेका छन् । जसमा उपाध्यक्षहरू पञ्चासिहं, सुरेन्द्र बस्नेत तिलक भण्डारी र महासचिव उत्तम अधिकारी रहेका छन् । प्रचण्डले नै संगठनको नेतृत्व चयन गर्ने भएपछि अध्यक्षका दाबी दिँदै आएका नेताहरूसमेत अन्यौल रहेका छन् ।

प्रचण्डले संगठनका वर्तमान पदाधिकारीमध्ये एक जनालाई नेतृत्व दिएर सबैलाई पार्टीको मुख्य जिम्मेवारी दिने उद्घोष गर्दै आएका छन् ।