एमाले केन्द्रीय कमिटीले 'संसद विघटनको कदम सही' भन्दै पारित गरेको खुलासा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एमाले केन्द्रीय कमिटीले ‘संसद विघटनको कदम सही’ भन्दै पारित गरेको खुलासा



काठमाडौँ– नेकपा एमालेको विशान महाधिवेशन शुक्रबारदेखि सुरू हुने भएको छ । महाधिवेशनको तयारी पुरा भएकोबारे पार्टीका स्थायी कमिटि सदस्य एवं बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बादलले संसद विघटन गर्ने कदम ठीक भएको औपचारिक निर्णय एमालेको केन्द्रीय कमिटीले गरेको खुलासा गरेका छन् । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने विधान सम्मेलनबारे जानकारी दिँदै बादलले संसद विघटनका सवालमा फरक मत भए पनि त्यसलाई पार्टीले औपचारिक रुपमा भने उपयुक्त निर्णयका रुपमा लिएको दाबी गरेका हुन्।

उनले भने, ‘संसद विघटन सही थियो भन्ने कुरालाई केन्द्रीय कमिटिले अनुमोदन गरिसकको छ। त्यो विघटन जायज थियो भन्ने हो। त्यसमा फरक मतहरु पनि छन्। त्यो आवश्यक थिएन, प्रतिगमन हो भन्ने भनाइ पनि आएका छन्।’

अध्यक्ष ओली विरोधी माधव नेपाल पक्षमा लागेर अन्तिम समयमा एमालेमै रहेका नेताहरुले ओलीले दुई पटक गरेको संसद विघटनबारे समीक्षा हुनुपर्ने आवाज उठाइरहेका छन्। त्यसै सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै बादलले फरक मत भए पनि संसद विघटन सही निर्णय थियो भन्ने पार्टीको आधिकारिक धारणा भएको उल्लेख गरे।

बादलले पार्टीलाई बलियो बनाउन विधान सम्मेलनमा धेरै प्रतिनिधि तय गरिएको दाबी गरे। उनले भने, ‘धेरै प्रतिनिधि किन राखियो? अधिकतम सदस्यलाई उपस्थित गराएर निर्णय लिनका लागि हो। यसले पार्टीलाई बलियो बनाउँछ। सबैको स्वामित्व लिन सक्ने अवस्थाको सिर्जनाका होस् भनेर हो। विचार, पद्धतिको निर्माणका लागि प्रतिनिधिलाई बोलाइएको हो।’