यसपटक पनि सुध्रिएनन् प्रचण्ड: आफ्नै गोजीबाट थपे मन्त्री
काठमाडौं- सरकार बनेको लामो समयसम्म पूर्णता दिन नसकेको आरोप लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको नाम मागेपछि गठबन्धनका नेताहरूले मन्त्री बन्नेहरूको लिस्ट तयार पारेका छन् । नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा जाने बाँकी चार मन्त्रीहरुको सूची बुझाइसकेको स्रोतको दाबी छ । माओवादीबाट यसअघि पम्फा भुसाल ऊर्जा र जनार्दन शर्मा अर्थमन्त्री बनिसकेका छन् ।
गठबन्धनमा काँग्रेसले ७, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले ६–६ मन्त्री लिने सहमति भएको बुझिएको छ । सोहीअनुसार माओवादीले चार मन्त्रीको नाम टुङ्गो लगाएको हो । माओवादीको स्थायी कमिटी बैठकले यसअघि नै मन्त्रीको नाममा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
प्रचण्डले माओवादीबाट स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम सिफारिस गरेका छन् । प्रचण्डको जति आलोचना भएपनि उनले पार्टीका नेताहरूको कुरा भने सुनेनन् । यो पटक पनि प्रचण्डले आफ्नै गोजीका नेताहरूलाई मन्त्री बनाउने भएका छन् ।
माओवादीमा केही नेताले पटक–पटक मन्त्री बन्ने अवसर पाउँदा अन्य नेतामाथि अन्याय भएको भन्दै प्रचण्डको चर्को आलोचना भइरहेको छ । यसपटक पनि उनले पकेटका र पटकपटक मन्त्री बनेकाहरूलाई साइड लगाउन सकेनन् ।
तर यसपटक भने तीन जना नयाँ अनुहार मन्त्रिपरिषदमा छनौट गरेका छन् । शर्मा, भुसाल र गजुरेल पटक–पटक मन्त्री बनिसकेका छन् भने पौडेल, विशंखे र गहतराज पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।