सर्वदलीय बैठक बस्दै: संसद बैठक स्थगित गर्ने देउवाको तयारी
काठमाडौं – संघीय संसद्मा जारी अवरोध अन्त्यको प्रयास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज(बिहीबार) बिहान १० बजे संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका हुन् ।
आजको बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
२३ भदौमा सुरु भएको संसद्को चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ ।
एमालेकै अवरोधबीच सरकारले बजेट पास गरेको थियो । संसद्मा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन् भने एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् ।
एमाले सहमतिमा नआएर संसदमा अवरोध गरिरहने हो भने प्रधानमन्त्री देउवाले संसद बैठक नै रोक्ने सोच सम्म बनाएका छन् । स्रोतका अनुसार एमालेले चल्नै नदिने हो भने संसद अधिवेशन अन्त्य गर्नुको विकल्प नभएको निष्कर्ष सत्ता गठबन्धनका दलहरूले निकालेका छन् चल्नै ।