कांग्रेस नेता आलमको मुद्दा 'हेर्न नमिल्ने' - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

कांग्रेस नेता आलमको मुद्दा ‘हेर्न नमिल्ने’



काठमाडौं- पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । उनले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

नेपाली काँग्रेसका नेतासमेत रहेका आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएकोमा आलमले धरौटीमा रिहा हुन माग गर्दै रिट निवेदन दिएका हुन् ।

उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिएको थियो । यद्यपि सुनुवाइ हुन सकेको थिएन । करिब १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमा आलमलाई मुख्य आरोपित बनाइएको छ ।

उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । पक्राउपछि उनको सांसद पद निलम्बित छ ।