आलमको मुद्दामाथि आज सुनुवाइ हुँदै, सिन्हा र चुडालको संयुक्त इजलास - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

आलमको मुद्दामाथि आज सुनुवाइ हुँदै, सिन्हा र चुडालको संयुक्त इजलास



काठमाडौं– रौतहट बम विस्फोटका मुख्य अभियुक्त नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामाथि आज शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

आलमको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासमा परेको छ। जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका लागि थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए।

२०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुुनुपर्ने उनको माग छ। उनको मुद्दा यसअघि विभिन्न समयमा पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन।

आलमको मुद्दा जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ। पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकिर उनको निवेदनमा गरिएको छ। कोभिड–१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण व्यापक भएकाले रिहाइ गर्नुपर्ने तर्क आलमको निवेदनमा गरिएको छ।

आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो। २०६४ चैत २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनअघि उनले बम बनाउन लगाएको र बम बनाउने क्रममा विस्फोट भएपछि घाइते भएकाहरुलाई इँट्टा भट्टामा हालेर जलाएर मारेको अभियोग लागेको छ ।