नेकपा एस र नेकपा एकीकृतबीच पार्टी एकीकरण हुने - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

नेकपा एस र नेकपा एकीकृतबीच पार्टी एकीकरण हुने



काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत)​ बीच पार्टी एकीकरण हुने भएको छ । पार्टी एकीकरण गर्नेबारे छलफल अघि बढेको बताइएको छ ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष राईसँग एकीकरणको विषयमा छलफल गरिरहेको बुझिएको छ। नेकपा एकीकृतका अध्यक्ष राई एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनाएर पार्टीलाई एकीकरण गर्ने र चुनाव चिन्ह लिनेबारे छलफल भएको बताइएको छ ।

एमालेभित्र अध्यक्ष्य केपी शर्मा ओलीसँग विवाद उत्कर्षमा पुगेका बेला माधव नेपालनिकट मानिने विद्यार्थी नेता राईले निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गराएका थिए । उक्त दल दर्ताका लागि नेता सुरेन्द्र पाण्डे र भीम रावलले सहजीकरण गरेको बताइएको थियो ।

त्यतिबेला नेपाल समूहमै रहेका अहिले मध्यमार्गी बनेर एमालेमै बसेका नेताहरूको निर्देशनमा राईले नेकपा एकीकृत दर्ता गरेको बताईएको थियो । आफ्नो साथ छाडेर एमालेमै बसेका १० नेताकै सल्लाहमा नेकपा एकीकृतलगायतका पार्टी दर्ता गरिएको भनेर नेता नेपालले भन्ने पनि गरेका छन्।

नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत जीवन राईलाई पार्टीमा समाहित गर्ने विषयमा छलफल चलेको बताइएको छ । नेता राईले सामाजिक सञ्जालमार्फत बेलाबेला ढिलोचाँडो कम्युनिस्ट पार्टी एक हुनुको विकल्प नरहेको बताउने गरेका छन्।