पौडेलको त्यो सवालपछि झोक्किए देउवा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

पौडेलको त्यो सवालपछि झोक्किए देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकमा दुई नेताबीच भनाभन भएको हो।

बैठकमा वरिष्ठ नेता पौडेलले पार्टीबाट मन्त्री बनाउँदा आफूखुशी किन गरेको जवाफ मागेका थिए । साथै उनले असोज ९ गते हुने पालिका अधिवेशन र एनआरएन चुनाव सार्नुपर्ने प्रस्ताव गरेका थिए।

पौडेलले जवाफ मागेपछि देउवा पनि भोक्किएर बैठकबाट हिँड्न लागेका थिए। बैठकमा सहभागी अन्य नेताहरूले आग्रह गरेपछि उनी बैठकमा बसेका थिए।

‘वरिष्ठ नेताज्यूले प्रस्ताव राखेपछि सभापतिज्यू थोरै आक्रोशमा देखिनुभयो,’ बैठकमा सहभागी एक नेताले भने,‘सबैको आग्रहपछि उहाँ केहीबेर बसेर निस्कनुभयो।’

केहीबेर बैठकमा बसेका देउवा गठबन्धनको बैठकमा जानुपर्ने भन्दै त्यहाँबाट निस्किएका थिए।

वरिष्ठ नेता पौडेलले पालिका अधिवेशन सार्न प्रस्ताव गरे पनि पदाधिकारी बैठकले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै असोज ९ गते अधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टीबाट मन्त्री नियुक्त गर्दा आफूहरूसँग सल्लाह नगरिएको भन्दै कांग्रेस संस्थापनइतर समूह असन्तुष्ट देखिएको छ।

त्यही विषयलाई केन्द्रित गरेर पदाधिकारी बैठकअघि वरिष्ठ नेता पौडेल पक्षको बैठक महाराजगंजस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको थियो।