मन्त्री बन्न मरिहत्ते गर्दै सुजाता कोइराला, सबै छोड्न तयार
काठमाडौं- पदमा हुँदा जहिले पनि विवादै विवादमा तानिने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला मन्त्री बन्न नपाएको धेरै भयो । अहिले उनले मन्त्री बन्नकै लागि पार्टीका शक्तिकेन्द्रदेखि शिर्ष नेताहरूलाई अनुनय गरिरहेका खबर बाहिरिएका छन् ।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि आफू मन्त्री बन्नकै लागि कोइरालाले मरिहत्ते गरिरहेकी छन् । उनले आफू मन्त्री बन्नकै लागि महाधिवेशनमा देउवालाई साथ् दिने सम्मको सुचना बालुवाटारमा पठाएकी छन् । त्यतिमात्र होइन अहिले सुजाताले जस्तोसुकै मन्त्रालय भएपनि आफू जाने तयारी गरेकी छन् । उपप्रधानमन्त्री पद नपाए पनि मन्त्री बन्न तयार रहेको बताएकी छन् ।
पहिले कांग्रेसकै सभापतिको उम्मेदवार बन्ने बताएकी सुजाता अहिले भने त्यो दौडबाट पछि हटेर सामान्य मन्त्री बन्नकै लागि मरिहत्ते गरेपछि कांग्रेसकै कतिपय नेताहरूले आलोचना समेत गर्न थालेका छन् । पहिले उपप्रधानमन्त्री बनिसकेकी उनले अहिले उपप्रधानमन्त्री बिना पनि मन्त्री बन्न तयार भएको आफैले बताएकी छन् । उनले आफू घटुवा भएरै पनि मन्त्री बन्ने बताउँदा कांग्रेस भित्रै उनको आलोचना भएको छ ।
बुधबार पनि उनले आफू उपप्रधानमन्त्री छोडेरै भएपनि सामान्य मन्त्री बन्न चाहेको बताईन । महाराजगञ्जमा बसेको पौडेल समूहको भेलापछि पत्रकारहरूसित कुरा गर्दै कोइरालाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
अहिले कुनै एउटा दलको उपप्रधानमन्त्री बनाएको अवस्थामा एकीकृत समाजवादी, माओवादी र जनता समाजवादी गरी तीनै दलले उपप्रधानमन्त्री माग गर्ने भएकाले पनि कांग्रेसबाट उपप्रधानमन्त्री नियुक्ति नहुने देखिएको छ ।
सोही कारण देखाउँदै कोइरालाले उपप्रधानमन्त्री पद नपाएपनि सरकारमा जान तयार रहेको बताएकी हुन् ।
यसअघि परराष्ट्र मन्त्रीमा उनको चर्चा थियो । तर नेपाली कांग्रेसका नेता नारायण खड्काले आजै मात्र परराष्ट्र मन्त्रीको सपथ लिइसकेका छन् । पौडेल समूहबाट दुईजना मन्त्रीको नाम यसअघि नै देउवाले मागिसकेको समेत कोइरालाले बताइन् ।
तर आफ्नै समूहका नेताहरूको ढिलासुस्तिले मन्त्रीको नाम टुंगो नलागेको समेत उनको भनाई थियो । पौडेल समूहमा मन्त्रीका आकांक्षी धेरै भएकाले कोइराला मन्त्री बन्ने/नबन्ने टुंगो लागेको छैन ।